नेपाल सरकारले देखाएको अभिभावकत्व प्रशंसनीय, अब क्षतिपूर्तिका लागि पनि पहल गरोस्

13445319_496995090496850_3178430682031433279_nकाठमाडौँबाट काबुलसम्म सीधा उडान कुनै पनि एयरलाइन्सको छैन। तर बुधबार एकाबिहानै सूर्य नउदाउँदै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा विमान काबुलका लागि उड्यो। यो सामान्य विमान थिएन। नेपाल सरकारको निर्देशनमा परराष्ट्र मन्त्रालयले करोड खर्च गरी चार्टर्ड गरिएको विमान सोमबारको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव र घाइतेलाई लिन उडेको थियो। शव र घाइतेमात्र होइन, नेपाल फर्कन चाहने २४ जनालाई एयरलिफ्ट गरी समेत काठमाडौँ फर्काइयो यही विमानबाट। अफगानिस्तानमा नेपालको दूतावास नभए पनि पाकिस्तानमा रहेका कार्यवाहक राजदूत तत्काल काबुल पुगी समन्वय गरी यो इभाक्युएसन अपरेसन सफल बनाए।
हामीले अरु देशले मात्र यस्तो गरेको सुन्थ्यौँ, देख्थ्यौँ। भूकम्पका बेला हाम्रै देशमा विदेशी सरकारले उनीहरुका नागरिकलाई लिन विमान पठाएको देख्यौँ। यस पटक भने नेपाल सरकार आफैले आफ्ना नागरिकप्रति अभिभावकत्व देखायो। यो पक्कै पनि प्रशंसनीय कदम हो।
सोमबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारलाई सहयोग गर्ने बताएका थिए। यो भनेको शव आफ्नो विमानबाट नेपाल ल्याइदिने अफर नै हुनुपर्छ। तर सरकारले यस पटक आफ्ने ध्वजावाहक विमान भारत, पाकिस्तान र अफगानिस्तानसित उडान अनुमति लिएर काबुल पठाएर देखाइदियो।
सँगसँगै घाइते पाँच जनालाई दिल्लीमा उपचारका लागि पठाउने कामको समन्वय पनि नेपाल सरकारले नै गर्‌यो। बुधबार घाइतेमध्येका एक च्याङ्बा तामाङको निधन भयो। यो खबर परराष्ट्रले तत्काल सार्वजनिक गर्दै उनको शवलाई नेपाल पठाउन आवश्यक निर्देशन त्यहाँ रहेका कार्यवाहक राजदूतलाई दियो।
काठमाडौँ विमानस्थलमा काठको बाकसमा शव आउनु नयाँ कुरा हैन। दिनहुँ त्यस्ता शव आउँछन्। तर बुधबार अफगानिस्तानबाट आएका शवमा अन्तिम श्रद्धाञ्जलि दिन प्रधानमन्त्री केपी ओलि आफै पुगे।
देशमा भरपर्दो रोजगारीको अभावमा विदेशका जोखिमपूर्ण स्थानमा गएका नेपालीहरु मध्ये यो अर्थमा उनीहरु फरक भए। नत्र अफगानिस्तानमै यसअघि २० भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ।
विदेशी (क्यानाडेली) दूतावासको सुरक्षामा खटिएका बेला ती नेपालीको ज्यान गएको हो। अब नेपाल सरकारले उनीहरुलाई क्यानाडेली सरकार, उनीहरुलाई त्यहाँ खटाउने निजी सुरक्षा कम्पनीसित पहल गरेर परिवारलाई उचित क्षतिपूर्ति दिलाउने कामको पनि समन्वय गर्नुपर्छ। यसमा ढिला गर्नुहुन्न।
नेपाली र अफगानी बीच कुनै दुश्मनी छैन। त्यहाँको सरकार र त्यहाँको सरकारलाई सघाउने विदेशीहरुविरुद्ध लडिरहेकासँग पनि नेपालीको कुनै दुश्मनी छैन। नेपालीहरु त्यहाँ रहेका विदेशीको सुरक्षा गर्ने ड्युटीको क्रममा मारिएका हुन्। त्यस्तो जोखिम छ भन्ने थाहा हुँदाहुँदै नेपाली सुरक्षागार्डलाई नेपाल यातायातको जस्तो बसमा बिना सुरक्षा हिँडाएर लापरवाही गरिएको हो कि हैन, त्यसबारे आवाज उठाउने कसले पो होला। तर पनि अब सतर्कता अपनाउन त पर्‌यो। हजारौँ नेपाली अझै त्यहाँ त्यस्तो अवस्थामा काम गरिरहेकै छन्।
यस्ता जोखिमयुक्त ठाउँमा नेपालीलाई रोजगारीका लागि जान दिने किन नदिने? त्यो पनि सोच्न जरुरी छ। नेपाल सरकारले जान नदिने भने पनि दलालहरुले गैरकानुनी बाटोबाट पुर्याइरहेकै हुन्छन् फेरि।
त्यति मात्र होइन वैधानिक रूपमा सरकारलाई कर तथा राजस्व तिरी वैदेशिक रोजगारको लागि गएका नेपालीहरू विभिन्न कारणवश मृत्युवरण गर्न बाध्य हुन्छन्। परिवारको आर्थिक अभावका कारण विदेशका अस्पतालहरूमा अलपत्र परेका नेपाली कामदारहरूको लाश कयौँ छन्। सरकारले यसमा पनि ध्यान दिनुपर्छ।

, , , , , , , , , , ,